Section 66
लेखापरीक्षकको काम, कर्तव्य र अधिकार
(१) लेखापरीक्षकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः– (क) लेखा तथा वित्तीय विवरणको लेखापरीक्षण गर्ने, (ख) आफूले लेखापरीक्षण गरेको लेखा, वासलात तथा नाफा–नोक्सान हिसाब समावेश गरी बैंक वा वित्तीय संस्थाको सञ्चालक समितिमा लेखापरीक्षण प्रतिवेदन तयार गरी पेश गर्ने, (ग) बैंक वा वित्तीय संस्थाको काम कारबाहीमा अनियमितता भएको वा सही ढंगले काम हुन नसकेको र त्यस्तो विषयले बैंक वा वित्तीय संस्थालाई हानि नोक्सानी पुग्न जाने देखिएमा सञ्चालक समितिलाई सोको जानकारी गराउने । (घ) देहायको अवस्था आउन सक्ने सम्भावना देखेमा राष्ट्र बैंकलाई सोको जानकारी गराउनेः– (१) राष्ट्र बैंकले बैंक वा वित्तीय संस्थाको इजाजतपत्र दिँदा तोकेका शर्त वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम वा दिइएको निर्देशन आदिको उल्लंघन हुने, (२) बैंक वा वित्तीय संस्थाको नियमित काम कारबाहीमा प्रतिकूल प्रभाव पार्ने, (३) लेखापरीक्षकलाई लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नबाट रोक्ने वा गलत लेखा परीक्षण प्रतिवेदन पेश गर्न लगाउने । (२) लेखापरीक्षकलाई आफ्नो कर्तव्य पालनाको सिलसिलामा जुनसुकै बखत बैंक वा वित्तीय संस्थाको खाता, हिसाब किताब, लेखा, भौचर लगायत सबै कागजात र लगतको निरीक्षण गर्ने अधिकार हुनेछ र लेखापरीक्षकले आफ्नो काम उपयुक्त ढंगबाट पूरा गर्ने तथा कर्तव्य पालना गर्ने क्रममा बैंक वा वित्तीय संस्थाको पदाधिकारीसँंग निजले आवश्यक ठानेको जानकारी र स्पष्टीकरण माग गर्न सक्नेछ । (३) लेखापरीक्षकले आफ्नो प्रतिवेदनमा देहायका विषय स्पष्ट रुपमा उल्लेख गर्नु पर्नेछः– (क) माग गरेको विषयमा जवाफ प्राप्त भए नभएको, (ख) वासलात, वासलात बाहिरको कारोबार, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण राष्ट्र बैंकले तोकेको ढाँचा र तरिका अनुसार तयार भए नभएको र उक्त विवरण बैंक वा वित्तीय संस्थाले राखेको हिसाब किताब, बहीखाता, श्रेस्ता र लेखासँग दुरुस्त रहे नरहेको , (ग) प्रचलित कानून बमोजिम हिसाब किताब, खाता बही, श्रेस्ता र लेखा ठीकसँग राखे नराखेको, (घ) बैंक वा वित्तीय संस्थाको कुनै पदाधिकारीले प्रचलित कानून विपरीत कुनै कामकाज वा अनियमित कार्य गरे नगरेको वा बैंक वा वित्तीय संस्थाको हानि नोक्सानी भए नभएको, (ङ) कर्जा अपलेखन विनियमावली वा राष्ट्र बैंकको निर्देशन बमोजिम कर्जा अपलेखन गरे नगरेको, (च) बैंक वा वित्तीय संस्थाको कारोबार राष्ट्र बैंकले तोके बमोजिम सन्तोषप्रद रुपबाट सञ्चालन भए नभएको, (छ) शेयरधनीलाई जानकारी दिनुपर्ने विषय, (ज) प्रचलित कानूनले तोकेको विषय तथा राष्ट्र बैंकले लेखापरीक्षकले लेखापरीक्षण प्रतिवेदनमा खुलाउनु पर्ने भनी तोकिदिएको अन्य विवरण, (झ) लेखापरीक्षकले दिन आवश्यक ठानेको अन्य सुझाव । (४) लेखापरीक्षकको प्रतिवेदन प्राप्त गरेपछि राष्ट्र बैंकले आवश्यक ठानेमा बैंक वा वित्तीय संस्थाको लेखापरीक्षकलाई देहायका थप कार्य गर्न आदेश दिन सक्नेछः– (क) लेखापरीक्षणका सम्बन्धमा राष्ट्र बैंकले आवश्यक ठानेको अतिरिक्त जानकारी पेश गर्न, (ख) बैंक वा वित्तीय संस्था वा त्यसको सहायक कम्पनीको कारोबारको लेखापरीक्षणको क्षेत्रलाई अझ व्यापक बनाउन, (ग) कुनै खास विषयमा राष्ट्र बैंकले तोके बमोजिम वा बैंक वा वित्तीय संस्थालाई सिफारिस गरे बमोजिम अन्य जाँच गर्न ।